नेपालबाट आयातभन्दा धेरै विद्युत निर्यात सुरु

विदुर खबर २०७८ भदौ ९ गते २१:२१

नुवाकोट ।  नेपालले आयात गर्ने विद्युत परिमाणलाई निर्यातले पहिलोपल्ट उछिनेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गर्ने विद्युतको तुलनामा दोब्बर विद्युत भारत निर्यात गरेको हो।

Advertisement

विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार पछिल्लो दुई दिनयता लगातार नेपालबाट भारततर्फको विद्युत निकासी आयातभन्दा धेरै भएको छ। भदौ ७ सोमबार भारतबाट २३ मेगावाट मात्रै विदयुत आयात हुँदा निर्यात भने ५६ मेगावाट भएको उल्लेख छ। जसले नेपालले भारतबाट किन्नेभन्दा भारतलाई बिक्री गर्ने बिजुली २४३% बढी भएको देखाउँछ। आयातित ऊर्जा चार लाख २७ हजार युनिट छ भने निर्यात करिब पाँच लाख युनिट रहेको भारप्रेषण केन्द्रले बताएको छ।

८ गते मंगलबार पनि ३३ मेगावाट आयात हुँदा निर्यात भने ५० मेगावाट भएको तथ्यांक छ। अझ निर्यात भएको ऊर्जा एकाइ परिमाण भने आयातभन्दा दोब्बरमाथि छ। तीन लाख ६३ हजार युनिट आयात हुँदा सात लाख १५ हजार युनिट निर्यात भएको प्राधिकरणले जनाएको छ।

Advertisement

यस अघि १४४ मेगावाटको कालिगण्डकी जलविद्युत आयोजना सञ्चालनमा आउँदा २०६० को दशकमा केहि समय नेपालले आयातभन्दा धेरै विद्युत निर्यात गरेको थियो।

भारतमा विद्युत आपूर्तिका संरचनामा अवरोध आउँदा कुनै कुनै दिन पाँच लाख युनिटभन्दा बढी विद्युत निर्यात भए पनि आयातित विद्युतभन्दा धेरै निर्यात भने पछिल्लो समयमा नभएको भार प्रेषण केन्द्रका प्रवक्ता दीपक धितालले बताए।

Advertisement

माथिल्लो तामाकोसीसहित निजी क्षेत्रका आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि प्राधिकरणले आयात ह्वात्तै घटाएको थियो। अहिले भने आयात परिणामलाई नै उछिन्ने गरी विद्युत निर्यात गर्ने अवस्थामा पुगेको हो।

यसअघि नेपालले भारतबाट दैनिक करिब एक करोड ८३ लाख युनिटसम्म विद्‍युत आयात गरेको थियो। गत वैशाख १५ गते भएको सो विद्युत आयात परिमाण अहिलेसम्मकै उच्च हो। त्यसबेला विद्युत प्राधिकरणले विकास गरेका आयोजनाहरुबाट ५८ लाख ३६ हजार युनिट र प्राधिकरणका सहायक कम्पनीसहित निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट कुल ४८ लाख २३ हजार युनिट उत्पादन तथा आपूर्ति भएको थियो। मागको अपुग परिमाण धान्न झन्डै दुई करोड युनिट आयात भएको गत वैशाख १५ मा पिक आवर डिमान्ड १४४० मेगावाट थियो।

अहिले लगातार दैनिक पाँचदेखि सात लाख युनिटसम्म विद्युत भारतमा निर्यात भइरहेको छ। भारतबाट हिउँदमा भने दैनिक पौने दुई करोड युनिटसम्म विद्युत आयात भएको रेकर्ड छ। निर्याततर्फ भने धेरैजसो समय दैनिक एक लाख युनिट हाराहारी मात्रै निर्यात हुने गरेको थियो।

प्राधिकरणको सोमबारको तथ्यांकअनुसार अहिले नेपाल विद्युत प्राधिकरणका आयोजनाबाट ४३७ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४२२ मेगावाट, निजी क्षेत्रबाट ४८३ मेगावाट विद्युत उत्पादन भएर राष्‍ट्रिय प्रसारण प्रणालीमा उपलब्ध छ।

खपततर्फ भने विद्युत प्राधिकरणको ८५ लाख ८० हजार युनिट, सहायक कम्पनीबाट ७७ लाख २७ हजार युनिट र निजी क्षेत्रबाट एक करोड १७ लाख ५८ हजार युनिट खपत भइरहेको छ। विद्युतको उच्चतम माग (पीक आवर डिमान्ड) भने १३६५ मेगावाटदेखि १४५० मेगावाटको बीचमा रहने गरेको छ।

आयात थालेको तीन दशकपछि बल्ल ठूलो परिमाणमा निर्यात

२०४८-४९ सालतिर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलोपटक नेपाल भारत ऊर्जा व्यापार (वा आदान-प्रदान) का लागि भारतसँग सहमति गरेका थिए। त्यसैमा टेकेर दुई देशबीच इनर्जी बैंकिङको अवधारणा पनि अघि बढाइएको थियो। कोइरालाले सुरुमा ५० मेगावाट इनर्जी बैंकिङका लागि सम्झौता गरेका थिए जसलाई पछि १५० मेगावाट बनाइएको हो।

२०५० भन्दा अघि वार्षिक ४/५ करोड युनिट सम्म विद्युत आयात मात्रै हुने गरेको थियो। २०५० पछि भने आयात १०/१२ करोड युनिट र निर्यात ५०/६० लाख युनिट देखि एक करोड युनिटसम्म हुने गरेको तथ्याङ्क पाइन्छ।

तर त्यसबेला एक त नेपालले उत्पादन गर्ने विद्युत परिमाण अत्यन्त कम थियो भने अर्को, विद्युत निर्यातका लागि आवश्यक बलियो अन्तरदेशीय प्रसारण पूर्वाधार पनि थिएन। यसकारण विद्युत निर्यातको गुन्जायस थिएन। त्यसका बाबजुद नेपालले तत्कालिन अवस्थामा विद्यमान पूर्वाधारबाटै भारतबाट सानो परिमाणमा भए पनि विद्युत आयात/निर्यात गर्न थालेको थियो। यो २०५० को दशकको सुरुआततिरै भएको थियो।

२०५९ सालमा कालीगण्डकी जलविद्युत आयोजना संचालनमा आएपछि नेपालबाट पनि अलि बढी परिमाणमा भारततर्फ विद्युत निर्यात भएको जानकारहरु बताउँछन्। तर त्‍यो निरन्तर हुन सकेन। नेपालमै विद्युत माग बढ्दै गएपछि माग धान्न नसक्दा देश लोडशेडिङको युगमा प्रवेश गरेको थियो। बाह्रैमास लोडशेडिङ सुरु भएपछि विद्युत निर्यात होइन, आयात झन् झन् बढ्दै गएको थियो।

नेपालले भारतलाई अलि ठूलो परिमाणमा बिजुली बेच्ने अवस्था आउन भने आयात सुरु भएपछि झन्डै तीन दशक लाग्यो। २०७५ सालबाट मात्र नेपालबाट भारततर्फ वर्षाको सिजनमा नियमित रुपमा विद्युत निर्यात हुन थालेको हो।

पछिल्लो १० वर्षको तथ्याङ्क हेर्दा वार्षिक ३० लाख रुपैयाँको विद्युत नेपालले निर्यात गर्ने गरेकोमा पछिल्ला ३ वर्षमा भने ४० देखि ८० करोड रुपैयाँ सम्मको विद्युत निर्यात गरेको तथ्याङ्क छ।

प्रतिक्रिया