प्रदेश १ मा सरकार फेर्ने कसरत

विदुर खबर २०७८ भदौ ४ गते १२:४३

नुवाकोट । नेकपा एमाले विभाजनसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार फेरिने भएको छ । नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ ।

Advertisement

नेकपा एमाले तथा प्रस्तावित एमाले समाजवादी, कांग्रेस, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गठबन्धनले नयाँ सरकार गठनका लागि आ–आफ्ना दाबी प्रस्तुत गर्न थालेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सांसद छन् ।

एमालेका ५१ सांसदमध्ये एक जना गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी ५० सांसदमध्ये एमाले समाजवादीतर्फ ८ जना खुलिसकेका छन् । समाजवादीमा खुलेका प्रदेश सांसदहरूमा राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे छन् ।

Advertisement

एमालेका ६ सांसद सावित्रीकुमारी रेग्मी, लीलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ अहिलेसम्म ‘तटस्थ’ छन् । सरकार बनाउने अंक गणितीय खेलले तटस्थ बसेका प्रदेश सांसदहरू तानातानमा छन् ।

उनीहरूलाई दुवै पक्षले फकाइरहेका छन् । प्रदेश सरकार गठनका लागि ४६ सांसद आवश्यक हुन्छ । जसका लागि एमाले समाजवादीका ८ सांसद गठबन्धनको सरकार बनाउन पर्याप्त हुन्छ । कांग्रेस, माओवादी केन्द्र, एमाले समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गरी गठबन्धनमा ४८ जना सांसद पुग्छन् ।

Advertisement

एमाले समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले अहिले ८ जना प्रदेश सांसद खुलिसकेको तर न्यूनतम १२ जना आफूहरूसँग रहने दाबी गरेका छन् ।

‘प्रदेश सांसद तथा एमालेका सचिव भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री दिने हो भने उहाँको पनि टिम हामीसँगै आउने सम्भावना छ,’ उनले भने, ‘आचार्यलगायत नेता तथा प्रदेश सांसदहरूसँग छलफल भइरहेको छ ।’ अर्का सांसद जीवन घिमिरे पनि आफूहरूसँगै बस्ने राईको दाबी छ । भीम आचार्यको टिम आएको अवस्थामा प्रदेशसभामा आफूहरूसँग १८ जना सांसद रहने उनको भनाइ छ ।

अहिले एमाले समाजवादीमा खुलेका प्रदेश सांसदमध्ये कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र सरिता थापा भीम आचार्यनिकट मानिन्छन् । तटस्थ रहेकामध्ये यशोदा अधिकारी, लीलाबल्लभ अधिकारी र पदमकुमारी गुरुङ पनि भीम आचार्यनिकट र समाजवादीमा खुलेकी होमकुमारी साँवा र तटस्थ रहेका बलबहादुर साम्सोहाङ योगेश भट्टराईनिकट हुन् । तटस्थ बसेकामध्ये सावित्रीकुमारी रेग्मी एमाले समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीकी पत्नी हुन् । त्यसैले एमालेले उनलाई ‘शंकाको घेरामा’ राखेको छ ।

एमालेमा रहेकी खिनु लङ्बा लिम्बू झलनाथ खनालनिकट सांसद हुन् । भीम आचार्यले एमाले समाजवादीमा खुलिसकेका ३ जना प्रदेश सांसदलाई एमालेमा तान्न सफल भए पनि रेग्मी र खिनु लङ्बासहित समाजवादीमा न्यूनतम ८ जना सांसद रहने देखिन्छ । गठबन्धनभित्र अहिले नै सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो भइनसकेको सांसद राजेन्द्रकुमार राईले बताए ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा बहुमत कायम राख्ने दाबी गरेका छन् । अहिले एमाले समाजवादीमा खुलेकालगायतका प्रदेश सांसदसँग छलफल भइरहेको र अबको १/२ दिनमा सबैको कित्ता प्रस्ट भएपछि बहुमतका साथ सरकारको नेतृत्व परिवर्तन हुने उनको भनाइ छ ।

‘मुख्यमन्त्री शेरधन राईले पार्टीलाई आवश्यक परेका बेला मुख्यमन्त्री छोड्ने घोषणा गरिसक्नुभएकाले बहुमत कायम राखेर प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने तयारी छ,’ मन्त्री कार्कीले भने, ‘बहुमत कायम रहने निश्चित भएपछि भीम आचार्य वा एमालेकै अन्य प्रदेश सांसदको नेतृत्वमा सरकारको नेतृत्व परिवर्तन हुन्छ ।’

प्रतिक्रिया