अध्यादेशको तरंग बाग्मति प्रदेशमा,डोरमणिको सरकार संकटमा

विदुर खबर २०७८ भदौ १ गते १८:२४

नुवाकोट । दल फुटाउन सहज हुनेगरी ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेशको तरंग प्रदेश सरकारमा समेत देखिने भएको छ।

Advertisement

यो अध्यादेशको परिणामबाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षका मुख्यमन्त्रीको पद धरापमा पर्ने देखिएको छ। बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार अब संकटमा पर्ने देखिएको हो। अध्यादेशमा गरिएको खुकुलो व्यवस्था अनुसार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दल फुटाउँदा त्यसको असर प्रदेश सरकारमा पर्नेछ।

नेपाल पक्षको समर्थनबेगर प्रदेश सरकार जोगिने छैन। अनि नयाँ सरकार निर्माणका लागि बागमतीमा नेपालपक्ष नै निर्णायक शक्ति बन्ने भएको छ।  सर्वोच्च अदालतले तत्कालीन नेकपालाई मान्यता नदिएर एमाले र माओवादीलाई ब्युँताइदिएपछि एमालेबाट मुख्यमन्त्री  पौडेलको पदमाथि आइलागेको जोखिम टरेको थियो।

Advertisement

बागमतीमा पनि केन्द्रको गठबन्धनकै समीकरणको अभ्यास हुनसक्छ। त्यहाँ माधव पक्षका २३, माओवादीका २३, कांग्रेसका २१ समेत गरेर झण्डै दुईतिहाई बहुमतनजिकको सरकार बन्न सक्छ। बागमतीमा विवेकशील साझा पार्टीका ३, मजदुर किसान पार्टी र राप्रपाका २/२ सांसद छन्।

पुस १० मा बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो।

Advertisement

माधवकुमार नेपालनिकट प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो। पौडेलविरुद्ध परेको अविश्वास प्रस्ताव संसदमा दर्ता भएसँगै प्रदेश सभा बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया