नेपालबाट ५ वर्षमा पत्ता लागे ११ वटा छुद्र ग्रह

विदुर खबर २०७८ असार १७ गते ७:४९

नुवाकोट । नेपालबाट पाँच वर्षमा ११ वटा छुद्र ग्रह पत्ता लगाइएका छन् ।

Advertisement

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले सन् २०१६ देखि गर्दै आएको खोजबाट पत्ता लागेका ती छुद्र ग्रहले अस्थायी नामसहित मान्यता पाएका छन् । हालसम्म १ हजार १ सय ९४ वटा छुद्र ग्रहको प्रारम्भिक पहिचान भए पनि ११ वटाले ‘प्रोभिजन डिस्कभरी स्टाटस’ पाएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

नासोले पहिचान गरेका ११ वटा छुद्र ग्रहमध्ये एउटा ‘नियर अर्थ एस्टोरोइड’ को नाम ‘२०१९–केके ५’ दिइएको छ । ‘अन्य १० वटा मेन बेल्ट एस्टोरोइड हुन्,’ भट्टराईले भने, ‘पृथ्वीदेखि ३० मिलियन माइल नजिक देखिने आकाशीय पिण्डहरूलाई नियर अर्थ अब्जेक्ट भनिन्छ ।’ नासोले छुद्र ग्रह दिवस (जुन ३०) को अवसर पारेर बुधबार तथ्यांक सार्वजनिक गरेको हो । भट्टराईका अनुसार नागरिक वैज्ञानिक अवधारणाअनुसार विश्वका हरेक मुलुकमा छुद्र ग्रह खोज्ने अभियान सञ्चालन गरिन्छ । इन्टरनेसनल एस्ट्रोनोमिकल सर्ज कोलाबोरेसन (आईएएससी) सँगको सहकार्यमा हरेक वर्ष यो अभियान सञ्चालन हुने गरेको छ । अमेरिकाको हवाईस्थित पाम–स्टार्स टेलिस्कोपले अन्तरिक्षमा खिचेको तस्बिरका तथ्यांकहरू निश्चित सर्भरमा राखिएका हुन्छन् । अभियानमा संलग्नहरूलाई उक्त सर्भरमा पहुँच दिइन्छ । एस्ट्रोमेट्रिका नामक सफ्टवेयरको प्रयोग गरेर टेलिस्कोपले खिचेका तस्बिरहरूबाट घुमिरहेको वस्तु खोजिन्छ ।

Advertisement

अभियानमा सहभागीले छुद्र ग्रह भेटेको बताएपछि त्यसलाई प्रमाणीकरणका लागि अमेरिका पठाइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले प्रमाणित गरेपछि उक्त छुद्र ग्रहको ‘प्रिलिमिनेरी’ (प्रारम्भिक) अवस्था हुन्छ ।

युनियनले त्यसपछि पुनः प्रमाणीकरणका लागि अन्य विभिन्न टेलिस्कोपमार्फत खोज तथा आफू मातहतका कार्यालयलाई सर्कुलेसन गर्छ । अन्य स्थानबाट पनि उक्त छुद्र ग्रह देखिए त्यसलाई ‘प्रोभिजनल’ स्टाटस दिइन्छ । त्यसपछि उक्त छुद्र ग्रहको अध्ययन गरिन्छ ।

Advertisement

नेपालमा सन् २०१८ डिसेम्बरदेखि जनवरी २०१९ सम्ममा २ वटा छुद्र ग्रह पत्ता लागेका थिए । जोरपाटीको द सेलिब्रेसन कोएड स्कुलमा कक्षा ९ अध्ययनरत ५ विद्यार्थीले पत्ता लगाएको छुद्र ग्रहको नाम ‘२०१८–वाईएस४’ राखिएको थियो । यस्तै, सानोठिमीमा कक्षा १२ मा अध्ययनरत ४ विद्यार्थीले पत्ता लगाएको छुद्र ग्रहको नाम ‘२०१९–एई१८’ दिइएको थियो । २०१९ को अप्रिलदेखि मेसम्म चलेको अभियानमा ११ वर्षीय ध्रुब व्यास जोशीले २०१९ जेपी ६० नामक छुद्र ग्रह पत्ता लगाए ।

 

प्रतिक्रिया