गाँजा फडानी बढाउँदै प्रहरी
नुवाकोट । बेलाबखत प्रतिनिधिसभामा गाँजा खेतीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग उठ्ने गरे पनि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले भने गाँजा खेती फडानी बढाउँदै लगेको छ ।
पछिल्लो तीन वर्षको तथ्यांक केलाउने हो भने आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले अघिल्ला दुई आर्थिक वर्षभन्दा धेरै गाँजा र अफिम खेती फडानी गरेको देखिन्छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४ सय ५७ विगाह गाँजा फडानी गरेको प्रहरीले आर्थिक वर्ष २०७६/७७ मा ६ सय ९२ विगाह गाँजा खेती फडानी गरेको थियो । जुन यो आर्थिक वर्ष २०७७/७८ मा दोब्बरभन्दा धेरैले बढेर १ हजार ७ सय ६९ बिगाह पुगेको छ ।
प्रहरीका अनुसार यो आर्थिक वर्षमात्रै प्रहरीले १३ लाख ३१ हजार ८ सय १३ गाँजाको बोट फडानी गरेको छ । प्रहरीले फडानी गरेको गाँजा खेतीसम्बन्धी तथ्यांकले प्रत्येक वर्ष कति ठूलो मात्रामा ग्रामीण क्षेत्रमा गाँजा खेती भइरहेको छ भन्ने संकेत दिन्छ ।
त्यसो त, आर्थिक वर्ष २०७६/७७ मा ४ हजार ५ सय ७९ केजी गाँजा बरामद गरेको प्रहरीले चालु आर्थिक वर्षभन्दा २०७७/७८ मा ५ हजार ५ सय ९२ केजी गाँजा पनि बरामद गरेको छ । यो तथ्यांकले प्रहरीले गाँजा फडानी बढाउँदै लगे पनि उत्तिकै मात्रामा गाँजा अवैध तस्करी पनि बढिरहेको देखाउँछ ।
लागूऔषध नियन्त्रण ब्युरोले जारी गरेको त्रिवर्षीय तथ्यांकले गाँजाका अलावा अन्य लागूऔषधको अवैध कारोबारको चित्र पनि सार्वजनिक गरेको छ । ब्युरोको अनुसार पछिल्ला तीन वर्षयता लागूऔषधसम्बन्धी कारोबारमा पक्राउ पर्नेहरुको संख्या र मुद्दा संख्या भने घट्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ६ सय ७५ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७६/७७ मा त्यो संख्या २१ प्रतिशतले घटेर २९ सय पुगेको छ । लागूऔषध कारोबारका पक्राउ पर्नेका संख्या गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०७७/७८ मा ११.८६ प्रतिशतले घटेर २ हजार ५ सय ५६ पुगेको छ ।
गत आर्थिक वर्षमा ५ सय ८१ केजी चरेस बरामद गरेको प्रहरीले यो आर्थिक वर्ष २०७७/७८ मा ४ सय ७३ केजी चरेस बरामद गरेको छ । त्यस्तै गत आर्थिक वर्षमा ७ केजी खैरो हिरोइन बरामद गरेको प्रहरीले चालु आर्थिक वर्षमा ८ केजी चरेस बरामद गरेको छ ।
गत आर्थिक वर्षमा प्रहरीले ४४ केजी अफिम बरामद गरेको थियो भने यो आर्थिक वर्ष प्रहरीले २ सय ६० केजी अफिम बरामद गरेको छ । यस्तो तथ्यांकले गाँजा, चरेस र खैरो हेरोइनजस्ता लागूऔषधको कारोबार कुन मात्रामा भइरहेको छ भन्ने मात्रै देखाउँदैन बरामदको बढ्दो परिणामले ठूलो संख्यामा लागूऔषध कारोबार र ओसारपसार देशभित्र भइरहेको देखाउँछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया