जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट
नुवाकोट । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।
जुलाई २३ देखि अगस्ट ८ सम्म जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट सोनियासंगै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्नेछन् ।
सोनियाले काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ४८ केजीमुनि तौल समूहमा कास्य पदक जितेकी थिइन् । उनले ओलम्पिकमा पनि त्यही तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
सन् २०१९ मा मोरक्कोमा भएको विशव जुडो च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास बनाएकी थिइन् ।
ओलम्पिकको लागि वाइल्ड कार्ड प्राप्त गरेकी सोनियाले सोच्दै नसोचेको कुरा भएको बताइन् । ‘आज बिहान ट्रेनिङ गरेर आएपछि ओलम्पिकको वाइल्ड कार्ड पाएँ भनेर थाहा भयो । सोच्दै नसोचेको कुरा भयो’ उनले भनिन्, ‘मिहिनेत गरिरहेको थिएँ । खुशी पनि लाग्यो अनि डर पनि लाग्यो ।’
ओलम्पिकमा पदक जित्ने भन्दा पनि राम्रो खेल्ने उनको लक्ष्य छ । ‘निरन्तर ट्रेनिङ भइरहेको छ । अब ओलम्पिकमा गएर राम्रो खेल्ने लक्ष्य छ’ उनले भनिन् ।
सोनियाले १३ औं सागपछि नेपाल पुलिसको एकेडेमीमा प्रशिक्षण गरिरहेकी छन् । उनी हालै मात्र नेपाल प्रहरीमा अनुबन्ध भएकी छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया