रोपाइँको मुखमा मल हाहाकार
नुवाकोट । सामाजिक सञ्जाल फेसबुकमा शनिबार एउटा तस्बिर निकै भाइरल बन्यो ।
कञ्चनपुरको दोधारा चाँदनीबाट महिलाहरूले टाउकोमा राखेर सानो परिमाणमा ल्याउँदै गरेको मल बरामद गरेपछि धेरैले प्रहरीको बहादुरी भन्दै उक्त तस्बिर पोस्ट गरे । कतिपयले स्वदेशमै मल आपूर्ति गर्न नसक्ने र भारतबाट अवैध रूपमा भित्रिएको मल पनि ल्याउन नदिने भन्दै आक्रोशसमेत पोखे ।
मनसुनको सुरुवातसँंगै पश्चिम तराईका किसान रोपाइँको तयारीमा छन् । बीउदेखि खेत सबै तयार गरे पनि रासायनिक मल अभावले उनीहरू चिन्तित छन् । नेपालमै सहज तरिकाले मल नपाइने र निषेधाज्ञा र नाका बन्द भएका कारण भारतबाट पनि ल्याउन नसकेका कारण किसान चिन्तित बनेका हुन् । भारतबाट अवैध रूपमा दोधारा चाँदनीसम्म पुगेको मलसमेत प्रहरीले ल्याउन नदिएपछि झनै समस्या भएको छ ।
धान रोप्नुअघि प्रयोग गर्ने डीएपी मल भने किसानले पाउन सकेका छैनन् । यो वर्ष मनसुन छिटो भएकाले रोपाइँ पनि सुरु भइसकेको कैलालीको गदरियाका परशु चौधरीले बताए । ‘धान रोप्नुअघि डीएपी मल छर्न पाएनौं,’ उनले भने, ‘पानी पर्ने बेला धान रोप्नुपर्ने भएकाले मल बिना रोपाइँ भयो ।’ घोडाघोडी निम्दीका कमल बमले मलबिना धान रोप्नुपर्ने अवस्था आएको बताए । ‘स्थानीय सहकारीमा मलका लागि दिनदिनै धाउनुपरेको छ,’ उनले भने, ‘सहकारी सस्थामा थोरै मल आइपुग्छ हारालुछ भएर एकैछिनमा सकिन्छ ।’
मल आपूर्ति गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेडका प्रदेश कार्यालय प्रमुख नवलसिंह बोगटीले निषेधाज्ञामा बैंकहरू बन्द भएकाले गोदाममा भएको मल पनि सहकारी संस्थालाई दिन नसकिएको जानकारी दिए । ‘एक साता भयो, स्थानीय प्रशासनले दिनमा दुई घण्टा मात्र बैंक खोल्ने अनुमति दिएको छ,’ उनले भने, ‘बैंक खुलेपछि हामीले पनि सहकारीलाई मल लिन बोलाएका छौं, कसले पायो, कसले पाएन थाहा छैन । मल वितरण जारी छ ।’
मागअनुसारको मल एकैपटक नआउने भएकाले पनि किसानलाई मलको अभाव खट्किने गरेको उनले बताए । भारतबाट चोरीको अवैध मल पनि अहिले किसानले महँगोमा किन्नुपरेको हसुलियाका वीरभान चौधरीको भनाइ छ । सीमा सुरक्षामा रहेका नेपाली र भारतीय सुरक्षाकर्मीले तस्करबाट बढी पैसा असुल्दा किसानलाई त्यसको भार परेको उनी बताउँछन् ।
कञ्चनपुरमा रासायनिक मलको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी दुवैका गोदाम लगभग रित्ता छन् । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा अहिले सय टन डीएपी र २० टन युरिया मात्रै छ ।
‘सहकारी मल खोज्दै आउँछन्, हामीले पर्याप्त मात्रामा दिन सकेका छैनौं,’ कृषि सामग्री लिमिटेडको महेन्द्रनगर कार्यालय प्रमुख बलबहादुर शाहले भने, ‘भैरहवामा प्रशस्त मल छ भन्छन्, तर यहाँ आउँदैन ।’ लिमिटेडसंँग मल बिक्रीका लागि ११४ सहकारी आबद्ध रहेको उनले जानकारी दिए ।
मल आपूर्ति गर्ने दुवै संस्थाका गोदाम रित्ता भए पनि महेन्द्रनगर बजार तथा ग्रामीण भेगमा समेत अवैध मल भने छ्यापछ्याप्ती भेटिएको छ । दुई साताअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको संयुक्त अनुगमनका क्रममा महेन्द्रनगरको तिरुपति बालाजीको गोदाममा ठूलो परिमाणमा अवैध मल भेटिएपछि गोदाम सिल गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया