कोरोनाबाट पदकधारी बक्सरको निधन
नुवाकोट । कोरोना भाइरस संक्रमण भएका दक्षिण एसियाली खेलकुदका पदक विजेता बक्सिङ खेलाडी हरिबहादुर केसीको निधन भएको छ ।
सागका दुई संस्करणका पदकधारी उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी गराए ।
४८ वर्षीय केसीलाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुको चार दिन घरमै बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मेघा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति गम्भीर बन्न थालेपछि मनमोहन अस्पताल रेफर गरिएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
फ्लाइवेट (५१ केजीमुनि तौल) समूहका पाँचपल्ट राष्ट्रिय च्याम्पियन केसीले सन् १९९५ मा भारतको मद्रासमा भएको सातौं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका थिए । त्यसको चार वर्षपछि नेपालमै भएको आठौं साफमा उनले रजत पदक जितेका थिए । फाइनलमा उनी भारतका डिंको सिंहसँग पराजित भएका थिए । डिंको एसियाली खेलकुदका स्वर्ण विजेता बक्सर हुन् ।
त्यसबाहेक उनले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । खेलाडी जीवनपछि विदेश पलायन भएका केसी मकाउमा १२ वर्ष बसेर तीन वर्षअघि नेपाल फर्किएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया