वीरगन्जमा निषेधाज्ञा १० दिन थपियो

विदुर खबर २०७८ जेठ १९ गते २१:३२

नु्वाकोट । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सा जिल्लामा वैशाख  १६ गतेदेखि जारी निषेधाज्ञा फेरि १० दिनका लागि थप गरिएको छ ।

Advertisement

बुधबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जेठ २० गते बिहीबारसम्मका लागि जारी गरेको निषेधाज्ञा जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरेको हो ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा दैनिक हुदै आएको कोरोनाको परीक्षणमा संक्रमितको संख्या कम हुदै गएको छ ।

Advertisement

वैशाख दोश्रो साता तिर संक्रमण दर बढ्दै गएर ७५ प्रतिशतसम्म पुगेको थियो । वैशाख १६ देखि निषेधाज्ञा लगाइएपछि जेठ पहिलो सातादेखि यता भने निरन्तर कम हुदै गएको संक्रमण दर अहिले १५ प्रतिशतमा झरेको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा मङगलबार राति पनि १९२ जनाको स्वाब परीक्षण गर्दा २० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

संक्रमण दर कम हुँदै गएको भए पनि अझ कम गर्न जारी निषेधाज्ञा थप १० दिन अर्थात् जेठ ३० गते सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

यसअघि पछिल्लो पटक जेठ १३ गतेबाट जेठ २० गतेसम्मका लागि थपिएको निषेधाज्ञा अब जेठ ३० गतेसम्मका लागि लम्ब्याइएको हो ।

पर्सा जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्नमा निषेधाज्ञा उपयोगी देखिएकाले डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप १० दिन अर्थात जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

पछिल्लो २ साता यता संक्रमण दर कम देखिनु सुधारको संकेत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

उनका अनुसार वीरगन्जका अस्पतालमा पनि अहिले कोभिडका बिरामीको संख्या ६० प्रतिशतले घटेको छ । पर्सा जिल्लामा अहिले एक हजार भन्दामाथि सक्रिय संक्रमित छन् ।

जारी निषेधाज्ञामा पनि विकास निर्माणका काम नरोकिएको, उद्योग संचालनमा कुनै रोक नलगाइएको र उपभोग्य वस्तुको पनि सहज उपलब्ध हुने गरी व्यावस्था मिलाइएकोले संक्रमण दर अझ कम गर्न निषेधज्ञा जेठ ३० गतेसम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।

प्रतिक्रिया