सेयर बजारले आज फेरि इतिहास रच्यो, १६ कम्पनीका लगानीकर्ता मालामाल

विदुर खबर २०७८ जेठ ९ गते १५:४७

नुवाकोट ।  पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

Advertisement

बजारखुल्न साथ करिब ५० अंकले घटेको बजार अन्त्यमा दोहोरो अंकले फर्किँदै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । नेप्से इतिहासकै उच्च २८१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २८०० विन्दुमाथि पुगेको यो इतिहासमै पहिलो पटक हो । यसअघि जेठ ४ गते नेप्सेले इतिहासकै सर्वाधिक २७९३ विन्दुको रेकर्ड बनाएको थियो ।

गतवर्ष कोरोना कालदेखि उकालो लागेको बजार त्यसयता निरन्तर बढिरहेको छ । अहिले पनि कोरोनाका कारण देशको अर्थतन्त्र ठप्पप्रायः हुँदा लगानीकर्ता सेयर बजारमा होमिँदा बजारले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको जानकारहरु बताउँछन् । नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन इतिहासकै दोस्रो धेरै कारोबार भएको छ । आज एकै दिन ११ अर्ब ६९ करोडको कारोबार भएको छ । यसअघि जेठ ४ गते सर्वाधिक ११ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।

Advertisement

नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको पूँजीकरण ३९ खर्ब नजिक पुगेको छ । यो हालसम्मकै धेरै हो भने देशको जीडीपीभन्दा पनि धेरै हो । आज सेयर बजार मापक सूचक नेप्से ३२.८१अंकले बढेर २८२० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० वटा समूहको परिसूचकमा हरियालीे छाएको छ भने ३ समूहको सूचक राताम्मे भएको छ । विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २३९.८९ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह २०.७ अंकले घटेको छ । आज कारोबारमा आएका २२० कम्पनीमध्ये १४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Advertisement

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ३७ करोड र ज्योति विकास बैंक २३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा १६ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । कर्णाली र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, युनाइटेड इदी मार्दी हाइड्रोपावर, कालिका पावर, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी विकास बैंक, वरुण हाइड्रोपावर, सिनर्जी पावर, श्रीइन्भेष्टमेन्ट, आइसीएफसी, सेन्टर, पोखरा र समृद्धि फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा ३.७३ प्रतिशत घटेको छ ।

प्रतिक्रिया