प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

नुवाकोट । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
‘अब लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको छ । त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ,’ महतले भने । उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए ।
प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए ।
‘राष्ट्रपति र प्रधानमन्त्रीले जुन षडयन्त्रपूर्ण तरिकाबाट हिजो निर्णय गर्नुभयो यो घोर अलोकतान्त्रिक संविधानको मूल मर्मविरुद्धमा रहेको हाम्रो निष्कर्ष रह्यो,’ महतले भने, ‘बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भयो ।’
दिउँसो ९३ भन्दा बढी सांसद छैनन् भन्ने प्रधानमन्त्रीलाई नै मुलुकको जिम्मेवारी दिने गरी बहुमतसहित आएकोलाई प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत काम गरेको महतले बताए ।
प्रतिक्रिया