धादिङको डुन्डुरेखोलाको एउटै पुल तीन पटक उद्घाटन

विदुर खबर २०७८ जेठ ६ गते १७:५२

नुवाकोट ।  धादिङको सदरमुकामलाई उत्तरी भेगमा जोड्ने डुण्डुरे खोलामाथिको पुल तीन पटक उद्घाटन गरिएको छ ।

Advertisement

निर्माण सुरु गरिएको लामो समयपछि निर्माण सम्पन्न भएको खनियाबास गाउँपालिका वडा नं ३ मा पर्ने डुन्डुरेखोला पुल विभिन्न समयमा गरेर तीन पटक उद्घाटन गरिएको हो । विभिन्न मितिमा पूर्व कानून राज्य मन्त्री दिलमान पाख्रिन, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका छन् ।

पूर्व कानून राज्य मन्त्री दिलमान पाख्रिनले गत माघ २७ गते नेपाली काँग्रेसको कार्यक्रममा जाने शिलशिलामा पुलको उद्घाटन गरेका थिए । पुलको उद्घाटन गर्दै सोही पुल पार गर्दै कार्यक्रममा पुगेका थिए । त्यस्तै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले गत फागुन २५ गते उद्घाटन गरे । पूर्वाधार विकास कार्यालय नुवाकोटले औपचारिक कार्यक्रमको आयोजना गरेर पुलको उद्घाटन गरेका थिए । सोही पुल बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भर्चुअल माध्यमबाट जेठ ३ गते उद्घाटन गरेका छन् ।

Advertisement

राजनीतिक कारण एउटै पुल तीन पटक उद्घाटन भएको देखिन्छ । जिल्ला सदरमुकामदेखि तिप्लिङ जोड्ने धादिङवेशी–साँङकोष–तिप्लिङ सडक निर्माण सुरु भएको ३५ वर्षभन्दा बढी नाघिसक्दा पनि पुल निर्माण हुन सकेको थिएन । भौगोलिक विकटता, कोरोना कहर जस्ता कारण निर्माण सामग्री ढुवानीमा समस्या, डिजाइन गलत पर्न जादाँ पुल निर्माणमा ढिलाई भएको थियो ।

स्थानीयहरुको पटक पटक दबाबपछि निर्माण सम्पन्न भएको पुलले उत्तरी धादिङबासीलाई ठूलो राहत मिलेको छ । डुन्डुरेखोलामा पुल बन्न ढिलाई हुदाँ सवारी साधन खोला वारी नै रोकिने पर्ने अवस्था थियो भने पल्टि गरेर खाद्यन्न सामग्री ओसारपसार गरिन्थ्यो ।

Advertisement

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)ले डुन्डुरे खोलामा पाई आकारको स्ट्रिल ट्रस्ट ब्रिज बनाएको हो । आरजे कन्स्ट्रक्सन जेभी हिम्दुङ एन्ड थोकर कम्पनीले ठेक्का पाएको पक्की पुल ५ करोड २३ लाख लागतमा निर्माण गरिएको साइड इन्चार्ज रुपेश श्रेष्ठले बताए । ‘दुई पहाडको खोँचमा गहिरो खोला रहेको र त्यही खोँचको बीचमा पुल बनाउनु पर्दा भौगोलिक रुपमा कठिनाइ भएपनि तीन वर्ष नौ महिनामा पुल निर्माण गरिएको हो’, श्रेष्ठले भने, ‘विकट भौगोलिक अवस्था, कोरोना कहर जस्ता कारण निर्माण सामग्री ढुवानीमा समस्या, डिजाइनमा सुधार लगायतका कारण पुल निर्माणमा केही समय ढिलाइ भएको थियो ।’

विकास र अवसरबाट टाढा पारिएको धादिङको उत्तरी भेगका लापा, तिप्लिङ, सेर्तुङका गाउँबस्तीसम्म सडक सञ्जाल विस्तार गर्ने कार्य भइरहेको छ । जिल्ला सदरमुकाम देखि तिप्लिङको लब्दुङ गाउँसम्मको यो बाटो ६९ किलोमिटर लामो छ । हिउँदमा सेर्तुङको बोराङसम्म मोटर पुग्ने गर्छ । बर्खायाममा भने सडक भासिने समस्याले बाटो बन्द हुने गरेको छ ।

सेर्तुङको बोराङसम्म सडक खनिए पनि डुन्डुरे खोलामा पुल नहुँदा सवारीसाधन खोलावारी नै रोकिने गरेका थिए । यात्रुवाहक जीप र बसले यात्रुलाई डुन्डुरेसम्म मात्रै पुर्‍याउने गरेकोमा पुल निर्माणसँगै अहिले सेर्तुङसम्म मोटर चल्ने गरेको छ ।

मोटर चलेपछि गाउँबासीलाई चाहिने खानेकुरा, निर्माण सामग्री तथा दैनिक उपभोग्य अन्य सामान ढुवानीमा सहज भएको छ । खच्चड र मानिस आफैले बोकेर सामान पुर्‍याउनु पर्ने बाध्यता विस्तारै हट्दै गएको रुविभ्यालीका स्थानीयले बताएका छन् ।

धादिङबेसीबाट सांकोष तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङको बोराङसम्म सडक पुगेको छ भने अर्कोतर्फ धादिङबेसीबाट नुवाकोट, रसुवाको स्याफ्रुवेशी हुँदै रसुवा र धादिङको सीमाना सोमदाङ हुँदै तिप्लिङको ३८ सय मिटर उचाइको पहाडीभेग पाङसाङ हुदै तिप्लिङको लब्दुङसम्म सडक पुगेको छ । बोराङदेखि तिप्लिङसम्म पनि सडक पु¥याउने लक्ष्य राखिएको छ ।

मानिस र खच्चड वारपार गर्न बनाइएको झोलुङगे पुल नजिकै डुन्डुरेखोला माथि पक्की पुल निर्माण गरिएको छ । डुन्डुरेखोलामा पुल बनेसँगै उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका अन्तर्गत पर्ने तिप्लिङ, सेर्तुङ, लापा र खनियावास गाउँपालिका अन्तर्गत पर्ने झार्लाङ सदरमुकामसँग जोडिएको छ ।

प्रतिक्रिया