सांसद खतिवडाको ‘अक्सिजन संकलन र सहयोग’ अभियान
नुवाकोट । पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीहरुको अत्याधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव हुँदा मुलुकभर अकालमै मृत्युवरण गर्नेहरुको संख्या उच्च छ ।
यस्तो संकटकाबीच अक्सिजन नपाएकै कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य लिएर बागमती प्रदेशसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले अक्सिजनको संकलन र सहयोग अभियान सुरु गरेका छन् । अभियानको थानलीस्वरुप पहिलोपटक जिल्ला त्रिशुली अस्पताललाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेका छन् । आफ्नै व्यक्तिगत लगानीमा खरिद गरिएको ६ हजार ८ सय लिटर अक्सिजनसहितको १० थान सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
बिरामीहरुले अक्सिजनकै अभावमा मृत्युवरण गर्नु परिरहेको कहालिलाग्दो यस्तो महामारीमा आफ्नो दायित्व निर्वाहकै क्रममा पहिलो चरणको सहयोग स्वरुप अक्सिजन सहितको सिलिण्डर अस्पताललाई सहयोग गरिएको खतिवडाले जानकारी दिए । उनका अनुसार त्रिशुलि अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई आइतवार बिहान हस्तान्तरण गरिएको थियो । आगामी दिनमा पनि अस्पताललाई आवश्यक अक्सिजनको आपुर्ति र अभावलाई पुरा गर्न निरन्तर सक्रिय रहिरहने प्रदेशसभा सदस्य खतिवडाको योजना छ ।
‘सम्भव हुनेजति सबैले आ–आफ्नो स्तरबाट सहयोग र पहलकदमी लिनुपर्ने बेला आएको छ’, अहिलेको यो कोरोना संकटको समयमा अक्सिजनको जोहो मात्रै गर्नसकेमा पनि संक्रमितलाई बाँच्ने अवसर मिल्नसक्ने भन्दै सांसद खतिवडाले स्वास्थ्य क्षेत्रलाई सहयोग पुर्याउन र संक्रमितहरुलाई उपचारको अभावकै कारण मर्न नदिन सबैसँग अपिल गरे । कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न खतिवडाले आग्रह गरेका छन् ।
यसैगरी, अखिल नेपाल महिला संगठन क्रान्तिकारी नुवाकोटका संयोजक कौशिला पुडासैनी र अखिल (क्रान्तिकारी) नुवाकोटको संयोजक बिनोद कोईरालाको नेतृत्वमा उपयोगविहिन भएर रहेका अक्जिनका खाली सिलिण्डरहरुको संकलन कार्यसमेत थालिएको छ ।
पछिल्लो समय नुवाकोट जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ९३ पुगेको छ भने पछिल्लो २४ घण्टामा जिल्लामा ४४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । ४४ जना कोरोनामुत्त भएसँगै जिल्लाका १३ सय ३८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया