तत्काल अक्सिजनको व्यवस्था गर्न काँग्रेस सहमहामन्त्री डा. महतको माग
नुवाकोट । नेपाली काँग्रेसका सहमहामन्त्री एवं नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अक्सिजनको आपूर्ति तत्काल गर्न र कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
डा. महतले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका हुन् । उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पनि काँग्रेसका तर्फबाट सरकारको ध्यानकर्षण गराएका छन् ।
डा. महतले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । डा. महतद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘कोभिड–१९ का विरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहेका छन् । अर्कोतिर काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ । यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सृजना भएको छ । यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन् ।
काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेका छन् ।’
सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतको आरोप छ । उनले भनेका छन्, ‘सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ न अक्सिजनको समुचित आपूर्ति सकेको छ ।’
नेपाली कांग्रेस आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न पनि महतले माग गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया