नुवाकोटमा निषेधाज्ञा फितलो, बजार क्षेत्रमा भीडभाड

विदुर खबर २०७८ वैशाख २३ गते २१:०१

नुवाकोट । नुवाकोटमा कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गरिएको निषेधाज्ञा फितलो हुँदै गएको छ ।

Advertisement


निषेधाज्ञाको तेस्रो दिन जारी रहदा उल्लङ्घन गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेका छन् । जिल्लाका मूख्य बजार र ग्रामिण क्षेत्र सबैतिर विस्तारै मानिसहरूको चहलपहल बढिरहेको छ । घरबाट बाहिर निस्कने र समूहमै घुम्ने प्रवृत्ति पनि बढेको छ । अत्यावश्यक खाद्यबस्तु बिक्रीवितरण गर्ने पसलहरू खोल्नका लागि समय सीमा तोकिएपनि सामाजिक दूरी कायम गर्ने र आवश्यक सुरक्षाका उपायहरू अपनाएको पाइएको छैन ।


बैंक तथा वित्तीय संघसंस्थाहरूमा समेत मानिसहरूको चहलपहल बढिरहेको छ । यहाँ नागरिकस्तरबाट मात्र नभई निषेधाज्ञा कार्यान्वयन गराउने निकायबाट नै उल्लङ्घन गर्ने गरेको पाइएको छ । लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालादारी गरेर खाने र विपन्न वर्गका लागि साँझ बिहानको छाक टार्न समस्या भएको भन्दै आम सर्वसाधारण मर्कामा परेको गुनासो गरिरहेका छन् भने सामाजिक दूरी कायम गरिएको छैन ।

Advertisement


बजार क्षेत्रमा मानिसहरुको भीड नियन्त्रणका लागि न सम्बन्धित स्थानीय सरकारको ध्यान पुग्न सकेको छ, न त प्रहरी प्रशासनले नै चासो दिइरहेको छ । यो वा त्यो वहानामा हुने गरेका लकडाउन उल्लङ्घनका घटनाले कोरोना संक्रमण फैलिन सक्ने जोखिमलाई बढाइरहेको छ । मानिसहरु जोखिम मोलेरै भए हिँड्नुपर्ने बाध्यता रहेको बताउने गरेका छन् ।


नुवाकोटको छिमेकी जिल्लाहरु काठमाण्डौ र धादिङ कोरोनाको हटस्पट बनिरहँदा नुवाकोटमा उच्च सुरक्षा सावधानी भने अपनाइएको छैन । सिमानाकामा सुरक्षाकर्मी परिचालन भएपनि मानिसहरू वाहिरी जिल्लाबाट भित्रने क्रम रोकिएको छैन । यस्तो अवस्थामा सिमाना वारपार भइरहेको आवतजावतले कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढाइरहेको छ ।

Advertisement


हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या एकहजार ५ सय ६४ पुगीसकेको छ भने दुई जनाले ज्यान गुमाएका छन् । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।
जिल्लाको ढुङ्गे त्रिशुली, बट्टारका भित्री बजारका पसलहरु पूर्ण रुपमा बन्द गरिएको छैन । बढी मात्रामा त्यस्ता ठाउँहरूमा निकै भीडभाड हुने गरेको छ ।

तर जिल्ला प्रसासन कार्यालय नुवाकोटले सूचना नै जारी गरेर निषेधाज्ञालाई थप कडाई गर्ने जनाएपनि त्यस्तो अनुभुति गर्न भने पाइएको छैन ।

प्रतिक्रिया