नेकपा विवाद प्रकरण : ओलीमाथि कारबाहीको अन्तिम तयारी
नुवाकोट । प्रतिनिधिसभा विघटन गरेर संविधानविपरीत काम गरेको भन्दै नेकपा नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको छ ।
पार्टी स्थायी कमिटीको निर्णयअनुसार प्रचण्ड–नेपाल समूहले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण माग गरेको हो । स्थायी कमिटीको निर्णय लिएर नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सोमबार प्रधानमन्त्री निवास पुग्नुभएको थियो । माघ ४ गते बसेको स्थायी कमिटीको निर्णयअनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको हो, जसमा विधानविपरीत गतिविधि गरेकाले तपाईंलाई थप कारबाही किनन गर्ने? भनेर स्पष्टीकरण माग गरिएको कार्यालय सचिव ढकालले जानकारी दिनुभयो ।
नेकपाको पार्टी विधानको धारा ५६ मा अनुशासनको कारबाहीबारे उल्लेख गरिएको छ । कार्यालय सचिव ढकालले आफूहरु पार्टी अध्यक्ष ओलीलाई नै स्पष्टीकरणपत्र बुझाउन गए पनि गेटमा भएका कर्मचारीले प्रधानमन्त्रीसमक्ष पु-याउने बताएपछि गेटमै दिएर फर्किएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘एक पेजको स्पष्टीकरणपत्र हामीले गेटमा बुझाएर फर्कियौं, कर्मचारीले पत्र बुझ्ने कि नबुझ्ने भनेर प्रधानमन्त्रीको सचिवालयसँग जवाफ माग्ने काम भयो, सचिवालयले बुझ्ने भएपछि पत्र छोडेर आयौं ।’ ढकालका अनुसार अध्यक्ष ओलीले पार्टीको विचार सिद्धान्त, विधिविपरीत निर्णय गरेको हुनाले तपाईं (ओली)लाई किन कारबाही नगर्ने भन्ने विषय उल्लेख गरिएको छ । ‘तीन दिनभित्र स्पष्टीकरण दिन पनि जवाफमा भनिएको छ।’ –उहाँले भन्नुभयो ।
संसद् विघटन भएसँगै नेकपाभित्र दुवै समूह कारबाहीमा आक्रामकरुपमा उत्रिएका छन् । यसअघि ओली समूहको बैठकले प्रचण्डलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । प्रचण्ड–नेपालपक्षले ओलीलाई अध्यक्षबाट र विष्णु पौडेललाई महासचिवबाट हटाएको पत्र निर्वाचन आयोगमा बुझाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया