एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थाल्यो
काठमाडौँ, करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ ।
यसअघि नियमितरुपमा फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटस्थित सिसडोल भरिएर फोहर राख्ने स्थानको अभाव भएपछि फोहर उठ्न सकेको थिएन । सिसडोलमा व्यवस्थापन गर्ने स्थानको मात्र होइन बर्खाको कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो ।
अहिले सिसडोलमा तत्कालको लागि व्यवस्थापनको प्रबन्ध मिलाइएको छ भने बाटो पनि मर्मत गरिएकाले फोहर उठ्न थालेको हो । फोहरका कारण नागरिकको जनजीवन प्रभावित भएको थियो । काठमाडौँ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न समस्या भए पनि नियमित रुपमा फोहर उठिरहेको जानकारी दिनुभयो । भित्री केही गल्लीमा बाँकी भए पनि, बाहिरी मुख्य शहर सबै स्थानको फोहरको व्यवस्थापन भइसकेको छ । आगामी दिनमा नियमित फोहर व्यवस्थापन हुनेछ । नियमित रूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समय रोकिएको फोहर व्यवस्थापनको लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले घरमा नै फोहरको गाडी आउने जनाएको छ ।
हरेक दिन कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । वर्षात्को समय छ, नियमितजसो पानी परिनै रहन्छ अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी प¥यो भने पुनः फोहर व्यवस्थापनमा समस्या नआउँला भन्न सकिँदैन ढकालले भन्नुभयो । महानगरपालिकाले फोहर व्यवस्थापन स्थानको व्यवस्थापन, केन्द्र सरकारले गर्नुपर्ने भन्दै आएको छ भने केन्द्र्र्र सरकारले स्थानीयको समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा राख्दै आएको छ ।
काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न सिसडोललाई लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएको भन्दै सिसडोलका स्थानीय बासिन्दाले यस स्थानमा तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया