त्रिविमा साढे आठ महिनापछि प्रत्यक्ष कक्षा सञ्चालनको तयारी
नुवाकोट । त्रिभुवन विश्वविद्यालयमा कोभिड–१९ जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ ।
त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिइने निर्णय पनि परिषद्को छ । कोभिड–१९ महामारीका कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए । लकडाउन सुरु भएको केही समयपछि अनलाइन कक्षा सञ्चालनमा ल्याइएको थियो । तर, अनलाइन कक्षामा माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता न्यून थियो । तल्लो तहका अधिकांश विद्यार्थीको अवस्थासमेत पहिचान हुन सकेको थिएन ।
स्थानीय निकायसँग समन्वय गरी कोरोना जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरिएको त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले बताए । ‘अनलाइनबाट सम्भव नभएका ठाउँमा प्रत्यक्ष कक्षा सुरु गर्ने पहिलो प्राथमिकता हो,’ शिक्षाध्यक्ष भुसालले भने, ‘धेरै जोखिम भएका र प्रत्यक्ष कक्षा सम्भव नभएका ठाउँमा अनलाइन पठनपाठन निरन्तर सञ्चालन हुन्छ ।’ त्रिविले सम्भव भएसम्म प्रत्यक्ष र नभए मात्र वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रत्यक्ष कक्षा सञ्चालन नहुँदा विपन्न परिवार र इन्टरनेटको पहुँच नभएका समुदायका विद्यार्थी पठनपाठनबाट वञ्चित थिए । परीक्षालगायत शैक्षिक गतिविधि सञ्चालनमा आएसँगै पठनपाठन पनि प्रत्यक्ष नै सुरु गर्न लागिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया