सयभन्दा कम संक्रमण भएका जिल्लामा लकडाउन खुलाउने तयारी
नुवाकोट । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।
जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रबार केही मन्त्रीहरुसँग लकडाउनको अहिलेको अवस्था परिवर्तन गर्नेबारे अनौपचारिक छलफल गरेका छन् । सो छलफलमा असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे प्रस्तावित योजनामाथि परामर्श भएको छ । सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । तर, यसबीचमा प्रधानमन्त्रीले आयोजना गरेको विज्ञहरुको छलफलमा लकडाउनको अहिलेको तरिका परिवर्तन गर्न सुझाव आएको थियो । सो सुझावअनुसार शनिवारसम्म प्रस्ताव तयार गर्न समितिलाई मन्त्रिपरिषदले जिम्मा दिएको छ ।
सरकारको नीतिअनुसार नै अहिले उत्पादनमूलक उद्योग व्यवसायहरु, बैंक तथा वित्तिय संस्था, सबै प्रकारका कृषि व्यवसायहरु र सबै प्रकारका ढुवानी साधनहरु निर्वाध रुपमा चलिरहेको उच्चस्तरीय समन्वय समितिले जनाएको छ । दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय कहिल्यै पनि बन्द नभएको समितिको भनाइ छ ।अहिले केही व्यवसायीले लकडाउन अवज्ञा गर्दै पसलहरु खोल्न आह्वान गरे पनि अधिकांश त्यस्ता पसलहरु नियमित खुलिरहेको समितिका एक सदस्यले बताए । सरकारविरोधी कतिपय शक्तिले लकडाउन उल्लंघन गर्न उक्साए पनि सरकार उत्तेजित नभएको समितिमा रहेका मन्त्रीहरु बताउँछन् ।
एक मन्त्रीले भने, ‘दैनिक उपभोग्य सामग्रीहरु, डिपार्टमेन्ट स्टोर र खाद्यान्न तथा कृषि स्टेनशनरी र औषधी जस्ता सामान विक्री गर्ने पसलहरु सधै खुलिरहेकै हुन् । केही व्यवसायीले उक्साहटमा आएर अरु बजार खोले पनि सरकार जबर्जस्ती बन्द गराउँदैन, सर्वसाधारण आफैं सचेत भएर त्यस्ता ठाउँमा जानु हुँदैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया