वाग्मती प्रदेशमा ५० अर्ब हाराहारी बजेटको तयारी

नुवाकोट । वाग्मती प्रदेश सरकारले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
असार १ गते बजेट ल्याउने गरी विभिन्न चरणमा छलफल भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।बजेट अधिवेशन जेठ पहिलो साता बोलाउने तयारी छ । आगामी बजेटमा कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । ‘उत्पादनमा वृद्धि गर्ने गरी बजेटले विशेष कार्यक्रम सम्बोधन गर्नेछ । अहिलको संकटलाई हेरेर आउने वर्षको बजेट तयार गर्दै छौं,’ उनले भने । मुख्यमन्त्री डोरमणि पौडेलले केही दिनअघि सबै मन्त्री तथा सचिवहरूसँग छलफल गर्दै कोरोना महामारीसँगै बजेटको तयारी पनि अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रदेश नीति तथा योजना आयोगले पनि कृषि र उत्पादनमै जोड दिएर बजेट आउने जनाएको छ । ‘अहिलेको संकटले अर्थतन्त्रलाई ठूलो प्रभाव पारेको छ,’ आयोग सदस्य श्याम बस्नेतले भने, ‘यो क्षतिको परिपूरण कृषि र उत्पादन क्षेत्रबाट मात्रै सम्भव छ ।’ उनका अनुसार प्रदेश अझै खाद्यान्नमा आत्मनिर्भर भइनसकेकाले कृषिलाई व्यवसायीकरण गर्दै उत्पादनमा जोड दिनुपर्छ ।
प्रदेश सरकारले आगामी वर्ष करिब ५० अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । आर्थिक मामिला मन्त्रालयका अनुसार चालू वर्षको भन्दा केही बढी बजेट आउनेछ । राजस्व परामर्श समितिले विभिन्न चरणमा छलफल गरिरहेको छ । मन्त्रालयहरूसँग योजना समेत माग भइसकेको छ । प्रदेश सरकार मातहतका ८ वटा सरकारी अस्पतालको सुधारको विषय उच्च प्राथमिकतामा पर्ने आर्थिक मामिलामन्त्री ढुंगेलले बताए ।
आयोगले प्रदेशका ६६ वटै निर्वाचन क्षेत्र र १ सय १९ वटै स्थानीय तहलाई लाभ हुने प्रकृतिको विशेष कार्यक्रम पनि बजेटमा पर्ने जनाएको छ । ‘यो संकट टरेपछि वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्किने हाम्रो अनुमान छ,’ सदस्य बस्नेतले भने, ‘उत्पादनलाई जोड दिँदै कृषिको आधुनिकीकरणमा त्यो जनशक्ति परिचालन गर्न सकिन्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया