सुखमा शहर, संकटमा गाउँ
लामो समयपछि भेटिएको स्कुले साथीले सोधिहाल्यो, ‘पैसा त राम्रै कमाएको छस् रे, जग्गा जमिन कहाँ, कति किनिस् त केटो ?’
मन नपरेको प्रश्न भए पनि उसलाई पिन्च पार्न मैले उत्तर दिएँ, ‘गाउँमा रोपनीका–रोपनी जग्गा जमिन छ, के शहरमा जग्गा किन्नू !’
सलाई मेरो उत्तर मन नपरेको अभिव्यक्तिबाट प्रष्ट बुझिन्थ्यो । अनि, असहमति जाहेर गरिहाले, ‘तैट्, अब पनि गाउँ जाने ?’
गफकै क्रममा पछिल्लो समय विश्वमा संकट निम्त्याउँदै फैलिरहेको ‘कोरोना भाइरस’को प्रसङ्ग निस्कियो । मैले यही संकट सम्झाउँदै सोधेँ, ‘काठमाडौँमा कोरोना भाइरस आए के गर्छस् नि केटा ?’ उसको उत्तर पनि मेरैजस्तो थियो, ‘गाउँ जाने !’ मैलै स्मरण गराइहालेँ, ‘अघि त गाउँ नजाने भनेको होइन र ?’
उसले हाँस्दै भन्यो, ‘यस्तै संकट पर्दा त जाने हो नि गाउँ !’
उसको सोचाइले नेपाली समाजको प्रतिनिधित्व गर्दछ । समग्रमा हाम्रो नेपाली समाजको सोचाई यहाँभन्दा माथि उठ्न सकेको छैन । शहरमा तीन आना जग्गा किन्नुलाई आजको समाजले सफलता मान्ने गरेको छ ।
गाउँको सयौ रोपनी जग्गा कौडीको भाउमा बेचेर शहरमा तीन आना जग्गा किन्नु हाम्रो समाजको लागि प्रगति र उन्नति बनेको छ ।
शहरमा तीन आना जग्गा किन्ने सपनाका साथ आज मजस्तै लाखौँ युवाहरु विदेश हानिएका छन् । देशमा रहेकाहरुको सपना पनि शहरको तीन आना भन्दा माथि छैन । जे होस् समग्रमा हाम्रो समाजको प्रगति पछिल्लो समय तीन आना जग्गामा उभिएको महलमा सीमित बनेको छ ।
यतिबेला विश्व कोरोना भाइरस (कोभिड–१९) को कारण थिलथिलिएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म एक सय ६२ देशमा पुगेको छ । हजारौं मानिसहरु सक्रमित बनेका छन् । आजसम्म १० हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् । विश्वको अर्थतन्त्र समेत धरासायी बन्दै गएको छ । नेपालजस्तो अल्पविकसित राष्ट्रहरुको अर्थतन्त्र खस्किनु कुनै नौलो कुरा रहेन ।
विश्वका कतिपय जानकारहरुले कोरोनालाई जैविक हतियारको संज्ञा दिएका छन् । कतिपयले यसलाई विश्वमा पुँजीवाद र साम्यवादको नयाँ लडाईं समेत भन्न भ्याएका छन् । जैविक हतियार वा शक्ति राष्ट्रहरुको टकराव भन्ने कुरा केही समयपछि विश्वले पक्कै पनि जानकारी पाउला । तर, हाम्रोजस्तो मुलुकलाई भने महासंकट परेको छ ।
विपद् परेको समयमा शहरवासीले गाउँघर सम्झने प्रचलन नयाँ भने पक्कै होइन । ०७२ सालको महाभूकम्पमा पनि गाउँघरले शहरवासीलाई राम्रै गुन लगाएको थियो । यस पटक पनि काठमाडौंको मात्रै नभएर प्रवासतिरका नेपालीले पनि वर्षौँअघि छाडेको गाउँघर सम्झिन थालेका छन् ।
कोरोना त्रासका कारण विदेशबाट स्वदेश फिर्ता हुने नेपालीहरुको सङ्ख्या उच्च रहेको छ । यतिबेला धेरै नेपाली विदेशबाट स्वदेश फर्कन चाहन्छन् ।
विदेशमा रहेका धेरै नेपालीहरुको सामाजिक सञ्जालहरुमा अभिव्यक्त स्ट्याटसहरुले पनि उनीहरुको यतिबेलाको गाउँ मोह प्रष्टै देख्न र बुझ्न सकिन्छ । जसको उदाहरणको रुपमा केही समयअघि कोरोनाको उद्गम स्थान चीनको बुहानबाट उद्धार गरेर ल्याएका एक सय ७५ जना नेपालीहरुको अवस्था र उनीहरुको समाजिक सञ्जालमा गरिएको आग्रहबाट प्रष्ट हुन सकिन्छ ।
कतिपय परदेशमा रहेका नेपालीहरुको यतिबेला ‘भाग्यले साथ दिए आफू जन्मेको देशमा नै मर्न पाइयोस् !’ भन्ने खालको स्ट्याटसहरु समेत सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
केही समयअघि चीनको वुहानमा रहेका एक सय ८३ नेपालीलाई फिर्ता ल्याउन नेपाल सरकारले कठिन मेहनत गर्नुपर्यो ।
चीनबाट नेपालीहरु जुनसुकै हालतमा पनि स्वदेश फर्कन चाहन्थे । त्यसका साथै उनीहरुका परिवार र आफन्तले काठमाडौँमा प्रदर्शन नै गर्यो । त्यस समय कतिपयले नेपालीलाई चीनबाट ल्याउन नहुने तर्कसमेत गरे । पटक–पटक संसदमा समेत यस विषयमा कुरा उठ्यो । त्यतिबेला बुहानमा रहेका नेपालीहरुले भनेका थिए, ‘मर्नै परे आफ्नै देशमा मर्ने !’
संकटमा आफ्नो जन्मभूमि र सुरक्षित स्थान नेपालीले मात्र होइन संसारका धेरै नागरिकहरुले खोज्ने गर्दछन् । केही दिनअघि मात्र बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले कोरोना भाइरस कोविड– १९ को डरले बर्मिङ्घम राजप्रासाद छोडेकी छन् ।
संक्रमणबाट जोगाउन उनलाई विन्डसर क्यासल लगिएको छ । बेलायतमा महामारीको रूप लिएको ‘कोभिड–१९’ को प्रकोपबाट बचाउन भनेर यो कदम चालिएको हो ।
स्पेनलगायत युरोपेली मुलकहरुले निजी अस्पताललाई सरकार मातहतमा प्रयोग गर्दै आएका छन् । तर हाम्रो देशको सरकारसँग माहामारीको समयमा मात्र होइन, अन्य समय प्राकृतिक विपद, नाकाबन्दीजस्ता विविध समस्याको पूर्वतयारी देखिँदैन । जसको ज्वलन्त उदाहरणको रुपमा ०७२ सालको भूकम्प र नाकाबन्दीलाई लिन सकिन्छ ।
एकातिर सरकार बजार अनुगमनको चर्काे गफ दिने, अर्काे तर्फ व्यवसायी कालोबजारीको प्रतिस्पर्धामा लाग्ने प्रचलन नेपाली समाजको लागि अब नौलो रहेन । संकट र विपदबाट नेपालीहरुले सिक्नुपर्ने धेरै छ । ०७२ को विनाशकारी भूकम्पमा समेत विदेशी राष्ट्रहरुको सहयोग पर्खेको नेपालले त्यसको लगत्तै भएको नाकाबन्दीबाट समेत पाठ सिकेनन् ।
विश्वका कतिपय मुलुकहरुलाई हेर्ने हो, भने उनीहरुले संकटबाटै पाठ सिकेर शक्तिशाली मुलुकमा परिणत भएका छन् । अमेरिकाले दोस्रो विश्वयुद्धको समयमा (सन् १९४५ अगस्ट ६ र ९) मा जापानको हिरोसिमा र नागासाकीमाथि लिटिल ब्वाई र फ्याट म्यान नामको शक्तिशाली एटम बम प्रहार ग¥यो । त्यसबाट पाठ सिकेको जापान आज विश्व अर्थतन्त्रमा उदीयमान राष्ट्रको रुपमा परिचित छ ।
केही वर्षअघि मध्य–एसियाको राष्ट्रहरुले कतार माथि नाकाबन्दी लगाए । त्यसबाट कतारले छुट्टै प्रगति गरिरहेको छ । अन्य देशहरुलाई चकित पार्दै सन् २०२२ मा विश्व फुटबलको महाकुम्भ मेला विश्वकपको आयोजना गर्दै छ ।
नेपालले पटक–पटक ब्यहोर्दै आएको नाकाबन्दी र भूकम्पलगायत प्राकृतिक विपदबाट समेत अझै पाठ सिक्न सकेको छैन । सकेसम्म विदेशी निकायमा हात थाप्ने र आशे प्रवृत्तिबाट अझै आफूलाई मुक्त राख्न सकेको छैन ।
यतिबेला कोरोनासँग लड्नको लागि नेपालसँग न दक्ष जनशक्ति छ, न पूर्वाधार । त्यस्तै सरकारसँग पनि ठोस योजना र तयारी छैन । समग्रमा कोरोनाविरुद्ध नेपालको तयारी फितलो छ ।
हिन्दु धर्ममा विश्वास राख्ने हामी नेपालीहरु यतिबेलासम्म पशुपतिनाथको आशिर्वादमा छौँ ! सरकारसँग पूर्वतयारीको बलियो पूर्वाधार छैन । यस्तो अवस्थामा धेरै नेपालीहरुले आफ्नो गाउँघर सम्झिरहेका छन् । अर्थात् नेपालभित्र कोरोना देखिए अन्तिम विकल्प गाउँ फर्कने रहेको छ ।
आज पनि कतिपय मानिसहरु भन्छन्, शहरमा कोरोना फैलिए गाउँ जाने । हिजो भुकम्प र नाकाबन्दीमा पनि यही भन्थे । तर आजको समयमा यो उत्तरले काम गर्दैन । के गाउँमा जाँदा संक्रमण हुँदैन ? गाउँमा औषधि उपचार प्रभावकारी छ ? शहरमा धेरै असर र गाउँमा कम असर पर्छ ? यस्ता प्रश्नहरु माथिको उत्तरमाथि फेरि थपिन्छन् ।
हामी दुःख पर्दा मात्रै आफ्नो जन्मस्थान र गाउँघर सम्झन्छौँ । अरुबेला सकेसम्म आफ्नो गाउँघरको नाम पनि भन्न नपरे हुनेजस्तो गर्छाै र गाउँको नामसमेत भन्न हिचकिचाउछौँ ! गाउँघर अप्ठ्यारो पर्दा सुरक्षा लिने साधन मात्र बने, त्यसलाई साध्य बनाउन सकेनन् ।
जबसम्म हामीले हाम्रो गाउँलाई साधन मात्र बनाइरहन्छौं, तबसम्म हाम्रो अवस्था आजको भन्दा माथि पक्कै हुने छैन । साधन र साध्यको योगले मात्र हाम्रो गाउँघरको मुहार फेर्न सक्छ । होइन भने हाम्रो सपनाहरु शहरको तीन आना जग्गामै सीमित बनिरहने छ । नयाँ पुस्ताले पनि शहरमा कति आना किनिस् ? भन्ने प्रश्नहरु सोधिरहने छ । देशको समृद्धि समेत त्यही ३ आनाको महलमा उभिरहने छ ।
त्यसैले हामीले हाम्रो जन्मस्थान र गाउँलाई संकटको समयमा मात्र होइन अन्य समयमा पनि सम्झनुपर्छ । शहरमा तीन आना जग्गा किन्दैमा प्रगति र समृद्धि हुँदैन ।
समाजको पनि तीन आना प्रतिको दृष्टिकोण फेरिनु जरुरी छ । होइन भने हाम्रो समृद्धिको यात्रा तीन आनामै सीमित हुने निश्चत छ । वर्षौँदेखि नेपाली जनजिब्रोमा प्रचलित ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्ने भनाइ जप्नुको कुनै तुक हुने छैन । त्यसैले गाउँघरले लगाएको गुण र संकटको सम्भावना ख्याल गर्दै दृष्टिकोण बदल्ने हो कि ?
deardevraj362gmail.com
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया