पर्यटकहरुलाई स्वागत गर्न नुवाकोट आतुर, यस्ता छन् नुवाकोटका पर्यटकीय गन्तव्य
नुवाकोट । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पहल थालेको हो ।
पर्यटन वर्ष २०२० लाई सफल पार्न र ऐतिहासिक नुवाकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउन यतिखेर नुवाकोट लालायित भएको छ । त्यसैको तयारीमा यतिखेर नुवाकोट प्रादेशिक सरकार तथा स्थानीय निकाय, स्थानीय होटल तथा पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला तर प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण नुवाकोट पर्यटकीय दृष्टिकोणले अब्बल रहेको भन्दै यसको प्रचार प्रसार र प्रवद्धर्नमा लाग्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
पृथ्वी नारायण शाहले नेपाल एकीकरणको पहिलो सुरुवात नुवाकोट जिल्लाबाटै गरेका थिए । पहिलो र दोस्रो आक्रमणबाट पराजित भएका शाहले तेस्रो पटक वि.सं. १८०१ मा आक्रमण गरी नुवाकोटमाथि विजय हासिल गरेका थिए । जितपछि नुवाकोटमा दरबार बनाई पृथ्वी नारायण शाहले गोरखा र नुवाकोटलाई राजधानी बनाएका थिए । २४ वर्ष नुवाकोटबाटै राज्य सञ्चालन गरेका थिए । पछि यही दरबारबाट काठमाडौँ, कीर्तिपुर लगायत अन्य राज्यहरुको आक्रमणको योजना बनाई शाहले राज्य एकीरण गर्दै अएका थिए । हालसम्म पनि नुवाकोटमा पृथ्वी नारायण शाहले निर्माण गरेको सात तले दरबार पुरानै अवस्थामा रहेको छ । जुन दरबार अहिले पुनर्निर्माणको चरणमा छ ।
यता नुवाकोट जिल्ला, स्थानीय तह विदुर नगरपालिका, उद्योग वाणिज्य सङ्घ, व्यापार व्यवसायी लगायत अन्य निजी क्षेत्रहरुले समेत समग्र नुवाकोटको पर्यटन प्रवद्र्धनमा सडक पूर्वाधार नै प्रमुख चुनौती विषय भएको औँल्याएका छन् । यो समस्याको शीघ्र व्यवस्थापन हुनुपर्नेमा उनीहरुको जोड रहेको छ ।
नुवाकोटका प्रमुख पर्यटकीय गन्तव्यहरु
नुवाकोट दरबार क्षेत्र
नुवाकोट सात तले दरबार नुवाकोटको एक महत्त्वपूर्ण चिनारी हो । वि.सं. १८०१ मा नुवाकोट विजय गरेपश्चात आफ्नो एकीकरणलाई निरन्तरता दिने उद्देश्यले तात्कालीन राजा पृश्वीनारायण शाहले ललितपुरका कालीगढहरुको सहयोग लिई यो दरबारको निर्माण गरेका थिए । निकै कलात्म तरिकाले निर्माण गरिएको विशाल नौतले दरबार आज पनि वास्तुकलामा देशै अनुपम नमुना मानिन्छ । पहिले नौ तलामा रहेको यो दरबार वि.सं १९९० सालको महाभूकम्पले क्षति पुर्याई सात तलामा सीमित भएको थियो । हाल वि.सं. २०७२ सालमा आएको विनासकारी महाभूकम्पले यो दरबारलाई पुनः क्षति पुर्याएको छ । अहिले यसको पुनर्निर्माण कार्य भइरहेको छ ।
यस क्षेत्र पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यस दरबारको वरपर भक्तपुरे राजाको दरबार, ललितपुरे राजको दरबार, शीतलपाटी, कोतघर जस्ता विभिन्न दर्शनीय स्थलहरु छन् । यस क्षेत्रमा रहेको मल्लकालीन रङ्गमहल दरबार पनि यस क्षेत्रको थप आकर्षण हो ।
बेलकोटगढी
नुवाकोटको ऐतिहासिक स्थलहरुमध्येको एक हो बेलकोटगढी । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गर्नका लागि यो गढीको निर्माण गरेका थिए । पृथ्वीनारायण शाहले तत्कालीन बेलकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि देख्न सकिन्छ । हाल यो गढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्य भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना गरिएको छ ।
दुप्चेश्वर महादेव
दुप्चेश्वर महादेव नुवाकोट जिल्ला सदरमुकामदेखि करिब ४० किमि उत्तरपूर्वमा पर्छ । धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण यस मन्दिरमा दर्शन गरेपछि निःसन्तान दम्पतीको सन्तान हुने र मनोकामना पूरा हुने जनआस्था रहेको छ । यहाँ हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्छ । उक्त रात यस मन्दिरमा जिल्लाभित्र र जिल्लाबाहिरका भक्तजनहरुको भीड लाग्ने गर्छ ।
सागरकुण्ड
समुद्र सतहदेखि २९१५ (दुई हजार नौ सय पन्ध्र) मिटर उचाइमा पर्ने सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो । काठमाडौँदेखि बूढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने यस कुण्डको पर्यटकीय आकर्षण भनेको यस कुण्डमा न त कतै पानीको स्रोत भेटिन्छ न त कुनै निकास नै । जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरु यस कुण्ड गए उत्तिकै फल मिल्ने जनआस्था रहेको छ ।
ककनी
राजधानी काठमाडौँदेखि जम्मा २७ किलोमिटरको मात्र दूरीमा रहेको ककनी पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिन्छ । यो क्षेत्र प्राकृतिक सौन्दयले भरिपूर्ण छ । समुद्र सतहदेखि करिब २०३० किमिको उचाइमा रहेको ककनी यस जिल्लाकै थोरै रमणीय प्राकृतिक सम्पदाहरुमध्ये पर्छ । उच्च भूवनोटको कारणले यस स्थानबाट नुवकोट जिल्लाको लिखु फाँट लगायत थुप्रै होचा भूभागहरुका साथै लाङ्टाङ, गौरीशङ्कर, मनास्लु, गणेश हिमाललगायत थुप्रै हिमशृङ्खलाहरुको देख्न सकिन्छ । यस क्षेत्रमा हिउँदमा पिकनिक जाने र रमाइलो जमघठहुनेहरुको भीड लाग्ने गर्छ ।
त्यस्तै, अन्यमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, राम मन्दिर रहेका छन् । सांस्कृतिक रीतिरिवाज र चालचलनमा समेत नुुवाकोट सम्मपन्न रहेको छ । यहाँ मनाइने गाईजात्रारलाखे नाच, सिन्दुरेजात्रा, माघेसङ्क्रातिको गोरु जुधाउने जात्रा लगायतका पर्वहरु समेत प्रख्यात छन् ।
रातोपाटीको सहयोगमा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया